मणिपाललाई सर्वोत्कृष्ट करदाता सम्मान
२ पुस पोखरा । पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताका रूपमा मणिपाल शिक्षण अस्पताललाई सम्मान गरेको छ । महानगरको ६७औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट करदाताका रूपमा मणिपाललाई सम्मान गरिएको हो । मणिपालले ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको हो ।
मणिपालले महानगरलाई तिर्नुपर्ने नक्सापास बापतको करिब २० करोड तिर्न बाँकी छ । महानगरले नियमविपरित अस्पताललाई कर छुट दिने निर्णय गरेको थियो ।गलत नियतका साथ राजस्व छुट दिइएको उजुरी परेपछि अख्तियारले महानगरमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो ।२०५३ मा बनेको मणिपाल अस्पताललाई महानगरको २०७९ चैत १० गते भएको बैठकले कर छुट दिने निर्णय गरेको थियो । बैठकले २० करोड कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो ।
उक्त निर्णयको आलोचना भएपछि १५ औँ नगरसभाले निर्णय नै बदर गर्ने निर्णय गरेको थियो । उक्त सभाले कर निर्धारण समिति गठन गरेकोमा समितिले कुनै पनि अध्ययन हालसम्म गरेको छैन ।
महानगरले तत्कालीन समयमा तिर्नुपर्ने नक्सापास बापतको रकम अहिले तिरिरहेको कर फरक भएकोले सम्मान गरिएको दाबी गरेको छ । राजस्व छुट गरेको विषय अहिले पनि अख्तियारमै विचाराधीन छ ।दोस्रोमा पोखरा ग्राण्ड प्रालि बनेको छ । ग्राण्डले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ तिरेको हो । मालपोत, सम्पत्ति र व्यवसाय कर तिरेर दोस्रो भएको महानगरले जनाएको छ । महेश बहादुर भट्टराईले ११ लाख १४ हजार १ सय ३६ रुपैयाँ मालपोत र सम्पत्ति कर तिरेर तेस्रो भएका छन् ।
सोही समारोहमा नियमित कर तिर्ने धिरज अर्याल, रामबाबु घिमिरे र राधा तिमिल्सिनालाई सम्मान गरिएको थियो । उनीहरुले मालपोत र सम्पत्ति कर समयमै तिरेका महानगरले जनाएको छ । धिरजले ४ हजार ७१, रामबाबुले १ हजार २ सय १४ रुपैयाँ र तिमिल्सिनाले १ हजार ४ सय ७४ रुपैयाँ कर तिरेका हुन् ।