स्वयंसेवी रक्तदाता सहकारीद्धारा ‘ब्लड बैंक’ स्थापना गरिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २० २०८२
2K
SHARES

२० पुस रुपन्देही । रक्तदान अभियानको पहिचान बनाएको स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेडले रुपन्देहीमा ब्लड बैंक स्थापना गर्ने भएको छ । शनिबार सम्पन्न तेस्रो वार्षिक साधारण सभामा प्रगति विवरण पेश गर्दै अध्यक्ष कृष्ण चौहान क्षेत्रीले एक सय बेडको अस्पतालसंग सहकार्यमा ब्लड बैंक स्थापनाको तयारी अन्तिम चरणमा पुगेको बताए ।स्थानीय अस्पतालसँग सहकार्यमा ब्लड बैंक संचालन गर्न सकिने व्यवस्था अनुसार रुपन्देहीका दुई अस्पतालसंग पत्राचार गरिएकोमध्ये क्रिमसन अस्पतालसंग ३ चरणको छलफल भएको उनले बताए ।

फरक पहिचान बोकेको सहकारीबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर ब्लड बैंक बनाउने गरी अभियान थालेको उनले बताए । बुटवल उपमहानगरपालिका उद्योग वाणिज्य, लघु उद्यम तथा सहकारी शाखा प्रमुख गुणानिधि खनालले यसको उद्घाटन गर्दै केही सहकारीकै कारण समग्र सहकारी क्षेत्र बदनाम भएको तर्क गर्दै उनले स्थानीय शेयर सदस्यहरुबाट स्थापित सहकारीमा कुनै प्रकारको समस्या नदेखिएको बताए ।

सहकारीको पहिचान शेयर सदस्यको भूमिकाबाट निर्धारण हुने भन्दै शेयर सदस्य चनाखो हुन उनले आग्रह गरे । रुपन्देहीमा १ हजारभन्दा बढी मध्ये बुटवलमा मात्रै २५० सहकारीमध्ये १३२ बुटवल उपमहानगरपालिकामा दर्ता रहेका छन् । प्रदेशमा दर्ता भएका संस्थाहरुमा नियमगमन नहुँदा पनि समस्या देखिएको उनको दाबी छ ।कोषाध्यक्ष प्रशन्न श्रेष्ठले रक्तदान अभियानमा सक्रिय स्वयंसेवी रक्तदाताहरु, रक्तदान अभियानलाई प्राथमिकता दिँदै अघि बढेको संस्थाबाट सहकारी शिक्षाबारे प्रचारप्रसारमा समेत जोड दिएको उनले बताए ।शेयर सदस्य महेन्द्र शर्मा, पुष्पा रायमाझीले रक्तदाताहरुलाई एकतावद्ध गरी सामाजिक क्षेत्रमा अग्रसरता गराई ब्लड बैंक स्थापना गर्ने मूल उद्देश्यलाई जोड दिएको हुँदा पनि आफूहरु आकर्षित भएको बताए ।