को हुन् शाइसा


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २९ २०८२
1.9K
SHARES

२९ पुस काठमाडौं । चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिन्छिन्, जो अभिनेता दयाहाङ राईको छोरीको भूमिकामा छिन् । शाइसा गौचनले दयाहाङको छोरीको रुपमा लामै भूमिका निर्वाह गरेको निर्माणपक्षले बताएको छ । उनले यसअघि पनि दयाहाङसँग दुईवटा चलचित्रमा काम गरिसकेकी छन् । शाइसाले ‘बरिष्ठ बलराम’ र ‘महाभोज’मा छोटो भूमिका निर्वाह गरेकी थिइन् । “मिरमिरेमा भने शाइसाको लामो भूमिका छ, अगाडि पनि दुईवटै चलचित्रमा दयाहाङ दाइसँग काम गरेकाले काम गर्न सहज भयो,” ‘मिरेमिरे’का निर्देशक यम शेर्पाले भने ।

यसैबीच, अभिनेता दयाहाङले चलचित्र ‘मिरमिरे’ बुवा र छोरीसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन् ।छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसी चलचित्र ‘मिरमिरे’ले भन्ने दयाहाङको भनाइ छ । यो इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा आफू सिनेमामा केन्द्रित रहेको उनले बताएको ‘मिरमिरे’को प्रेस नोटमा उल्लेख छ ।

झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’मा धेरै कुरा रहेको दयाहाङको भनाइ छ ।“झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्न मलाई पहिलादेखि नै रुचि भएकैले मैले यो चलचित्र छानेको हुँ,” दयाहाङ भन्छन्, “कतिसम्म दुःखी र खुसी हुनेभन्दा पनि हामी काममा प्यासन छैन भन्छौँ । तर, यो प्यासनले हेर्ने चलचित्र हो ।”

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ र शाइसासँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।