जलनको उपचारसम्बन्धी नयाँ कार्यविधि, विपन्नलाई निःशुल्क


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२
1.2K
SHARES

३० चैत काठमाडौं । नेपालमा जलनको उपचार लामो समयदेखि चुनौतीपूर्ण मानिँदै आएको छ । विशेषज्ञ चिकित्सकको अभाव, अत्याधुनिक प्रविधिको कमी र विशेष जलन उपचार वार्ड सीमित हुँदा सेवा मुख्यतया काठमाडौंकेन्द्रित छ । यसका कारण दूरदराजका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने जोखिम उच्च रहँदै आएको छ ।

साथै, जलनका बिरामीलाई तत्काल र दीर्घकालीन उपचार आवश्यक पर्ने भएकाले उपचार प्रक्रिया जटिल र खर्चिलो हुने गरेको छ । यस्तै अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलन उपचार सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

हालसम्म जलन उपचार सेवा सीमित अस्पतालमा मात्र उपलब्ध छ । लामो दूरी पार गरेर बिरामी काठमाडौं नै आउनुपर्ने बाध्यता छ । यसले उपचारमा ढिलाइ हुनुका साथै आर्थिक भार समेत बढ्ने गरेको छ ।

जलनको उपचार अरूको तुलनामा महँगो मानिन्छ । विशेष गरी गम्भीर जलन भएका बिरामीलाई महिनौँसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने हुन्छ । लामो समयसम्म आईसीयू वा विशेष वार्डमा राख्नुपर्ने, बारम्बार ड्रेसिङ, शल्यक्रिया, औषधि तथा संक्रमण नियन्त्रणका निम्ति विशेष उपकरण प्रयोग गर्नुपर्ने भएकाले खर्च बढ्ने गरेको छ । योसँगै बेड शुल्क, औषधि, नर्सिङ सेवा र अरू खर्च जोडिँदा उपचार झनै महँगो हुने गरेको छ ।