नेपालमा कृत्रिम दाँतको माग बढ्दो
२ वैशाख काठमाडौं । नेपालमा दाँत झर्ने, दुर्घटनामा गुम्ने, दाँतसम्बन्धी रोगका कारण क्षतिग्रस्त हुने तथा सौन्दर्य सुधार गर्नुपर्ने अवस्थाहरू बढ्दै जाँदा कृत्रिम दाँतको प्रयोग पनि विस्तार भइरहेको छ । कृत्रिम दाँतले चपाउने क्षमता सुधार्नुका साथै अनुहारको संरचना कायम राख्न मद्दत गर्ने भएकाले यसको माग बढ्दो छ । तर नेपालमा प्रयोग हुने अधिकांश कृत्रिम दाँत अझै विदेशबाट आयात हुने गरेको तथ्याङ्कले देखाउँछ ।
नेपालमा करिब ३८ वटा दन्त प्रयोगशाला (डेन्टल ल्याब्रोटरिज) सञ्चालनमा छन् । जहाँ बिरामीको आवश्यकता अनुसार सीमित मात्रामा कृत्रिम दाँत, क्राउन, ब्रिज, डेन्ट्चर आदि बनाइने गरिन्छ । यी प्रयोगशालाहरूमा व्यक्तिगत बिरामीको मापनअनुसार दाँत तयार गरिने भएकाले ठूलो परिमाणमा औद्योगिक उत्पादन भने हुँदैन ।
जसका कारण नेपालले विभिन्न मुलुकबाट कत्रिम दाँतको आयात गर्दै आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ४२ लाख ९९ हजार रुपैयाँ बराबरको कृत्रिम दाँत नेपाल भित्रिएको छ ।
जस अनुसार नेपालमा विभिन्न पाँच देशबाट कुल ४ हजार ४ सय ८ थान कृत्रिम दाँत आयात भएको छ । उक्त तथ्याङ्कले दाँत आयातबाट सरकारले ८ लाख २ हजार राजस्व संकलन गरेको छ ।तथ्याङ्कले नेपालको कृत्रिम दाँत बजारमा क्रमशः माग बढेको देखाएको छ । संख्यात्मक रूपमा भारतबाट आयात हुने कृत्रिम दाँतको मात्रा अत्यधिक भए पनि आर्थिक मूल्य र गुणस्तरका आधारमा अमेरिकी उत्पादनहरूको प्रभाव बढी देखिएको छ । यसले नेपाली बजारमा दुई फरक श्रेणी (सस्तो र महँगो) का उत्पादनहरू समानान्तर रूपमा प्रयोग भइरहेको संकेत गर्छ ।