स्वास्थ्य मन्त्रालयमा २२ सय बढी दरबन्दी थप्ने तयारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३
1K
SHARES

१० बैशाख काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निकायमा ९७४ दरबन्दी थप गर्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रमा उच्च तहका कर्मचारी, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई समेट्ने गरी स्वास्थ्य तथा अर्थ मन्त्रालयबीच छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार एमबीबीएस गरेका ५३४ जनाको दरबन्दी थप गर्ने प्रस्ताव गरिएको छ । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत करिब २२ सय दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको र यो संख्या बिस्तारै बढाएर सात हजारभन्दा बढी पु‍र्‍याउने योजना रहेको बताइएको छ।

स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा जनशक्तिको अभाव रहेको भन्दै कर्मचारीहरूले लामो समयदेखि दरबन्दी थप गर्न माग गर्दै आएका छन् । हाल करिब पाँच हजार दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा चाप बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

यसअघि प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा पाँच वर्षमा १२ हजार जनशक्ति थप्ने तथा पहिलो वर्षमै २ हजार १ सय २ कर्मचारी थप्ने योजना अघि सारिएको थियो । अर्थले स्वीकृत नदिँदा उक्त योजना अघि बढेको थिएन । स्वास्थ्य मन्त्रालयले सेवा प्रवाह सुधार गर्न र स्वास्थ्य संस्थाहरूमा जनशक्ति अभाव हटाउन दरबन्दी थप आवश्यक रहेको बताउँदै आएको छ ।