बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष नियुक्तिका निम्ति आवेदन आह्वान
१५ बैशाख काठमाडौं । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका निम्ति आवेदन आह्वान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार (वैशाख १५) सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई निर्धारित समयसीमाभित्र दरखास्त दिन भनेको छ ।
सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।
यो पदका निम्ति आवश्यक योग्यता बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) बमोजिम हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुकले आफ्नो निवेदन स्वास्थ्य मन्त्रालयमा प्रत्यक्ष बुझाउन वा इमेलमार्फत पठाउन सक्नेछन् ।