लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
१७ बैशाख काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, झापाको अर्जुनधार नगरपालिका–११, चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुईजनालाई पक्राउ गरिएको छ ।
त्यस्तै, सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१, मनोहराबाट दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।
यसैगरी, कोहलपुर नगरपालिका–१०, चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका–२५, याम्दीबाट एक, सिम्रौगढ नगरपालिका–३, भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका–१३, लालापुरबाट एकजनालाई पक्राउ गरेको हो । उनीहरू बुधबार पक्राउ परेका हुन् ।