जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
१५ असार काठमाडौं । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख २३ हजार पाँच रुपैयाँ र २२ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४६५ र चार बुक ताससहित पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।