ओलीलाई इतिहासको कठघरामा पुर्याइनेछ – नेता भुषाल
१० माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबैथोक गुमाईसकेको बताएका छन् ।
ओलीसँग अब साइबर सेना र सेटिङ मात्रै बाँकी रहेको उनको जिकिर छ । प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्ध काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुषालले शुक्रबारको विरोधसभामा उपस्थित जनसमर्थनले ओलीको पराजय सुनिश्चित भएको दाबी गरे।
उनले भने ‘अब ओलीसामु साइबर सेना नामक साइबर स्याल र सेटिङको प्रपञ्च मात्र सहारा बाँकी रहनेछन् ।’ उनले प्रतिगामी कदम सच्चाउन अझै समय रहेको भन्दै सोच्न आग्रह पनि गरे । उनले भने, ‘यो उपस्थितिलाई साक्षी राखेर म कमरेड ओलीलाई भन्छु- तपाईं गलत हुनुहुन्छ । समय हुँदै सोच्नुस् । यदि तपाईंले सोच्नुभएन भने इतिहासको कठघरामा पुर्याइनेछ ।’