शहीद वाग्ले र पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो – प्रचण्ड
२३ भदौ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
काठमाडौँमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्त्वपूर्ण दिन भएको बताए ।
उनले भने, “२०५६ सालमा सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गर्नुभयो । पार्टीको पोलिटब्युरो तहको सबैभन्दा उच्च नेतृत्व पंक्तिबाट भएको त्यो सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पङ्क्तिमा आक्रोश र ऊर्जा पैदा गर्यो तथा जनयुद्धलाई नयाँ उचाइमा पुर्यायो।”
अध्यक्ष प्रचण्डले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताए।