नेकपा एउटै छ – निर्वाचन आयोग
१२ माघ काठमाडौं । निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपालाई फुटको मान्यता दिएन । उसले दुबै पक्षको दाबी अस्विकार गर्दै फुटको मान्यता दिन अस्विकार गरेको हो। निर्वाचन आयोगले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको हो।
प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
‘आज बसेको बैठकले साविक नेकपाको केन्द्रीय समितीका लागि पेस गरेको विवरण नै कायम रहेको र सोही जानकारी दुबै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘दुबै पक्षले दाबी गरेअनुसार बीचमा गरिएका हेरफेर र संशोधन गर्न मिल्ने देखिएन।’
पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादवले नेकपा विवादमा आयोगले ठोस र प्रष्ट निर्णय गर्न नसकेको बताए । तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकीकरण भई नेकपा गठन गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि सो पार्टी राजनीतिकरुपमा विभाजित भएको हो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पक्षले नेकपाका झण्डै दुईतिहाइ केन्द्रीय सदस्य आफूहरुतर्फ रहेको भन्दै नेकपाको आधिकारिक पक्ष आफूहरु नै रहेको भनी निर्वाचन आयोगमा सोको विवरण पेस गरेका छन्।
अर्कोतर्फ ओलीले पार्टी अध्यक्ष ओली र महासचिव विष्णुप्रसाद पौडेल एकातर्फ रहेको हुँदा अध्यक्ष र महासचिव जता छन् पार्टी उतै हुने भनी दाबी गरेका छन्।