ओलीका म्यादी केन्द्रीय सदस्य मुख छोपेर रुँदै होलान् – नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १८ २०७७
8K
SHARES

१८ माघ धनगढी। नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई कटाक्ष गरेका छन्। शनिबार धनगढीमा आयोजित जनसभामा बोल्दै नेपालले ओलीले पार्टी बिधानविपरित नियुक्त गरेका केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले मान्यता नदिएपछि कटाक्ष गरेका हुन्।कार्यक्रममा नेपालले छिट्टै प्रतिनिधिसभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताए। उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्तुतले गर्दा पतन हुने समेत बताए। ‘केपी ओलीको पतन निश्चित छ,’ उनले भने, ‘म्यादी प्रहरीमा भर्ना खुलेजस्तै भर्ना खुलेको थियो। केन्द्रीय सदस्य भएर मख्ख परेका थिए। विचराहरुको टाइँ टाइँ ठिस् भयो। हिस्स बुढि खिस्स दाँत भयो। लाजले भुटुक्कै परेका होलान्। मास्कले नपुग्ने भए बुर्का पनि ओढाइदिनु।’उनले आधिकारिक पार्टी आफूहरुको रहेको बताउँदै ओलीपक्षमा गएर अन्धकार भविष्य नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरे। ‘केपीको नक्कली पार्टी हो,’ अध्यक्ष नेपालले भने, ‘केपीको पार्टीमा जानुभएको छ भने तपाइँको भविष्य अन्धकार छ। तपाईहरु फर्किहाल्नुस्। उज्यालो भविष्य हामीसँगै छ।’