ओली कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको – प्रचण्ड
२७ माघ काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदम नसच्चिए देश राजनीतिक संकटको भूमरीमा पर्ने चेतावनी दिएको छ। मंगलबार बिहान विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको भेटघाटमा प्रचण्ड र नेपालले यस्तो बताएका हुन्।
उनीहरुले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको पनि बताए। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘विक्षिप्त’ रूपमा प्रस्तुत भएको बताए। उनले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन।’
प्रचण्डले अघि भने, ‘जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ। तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ।’ ओली समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनर्स्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाए।
ओलीले निर्वाचन गराउन खोजेका हुन् भन्ने आफूहरुलाई नलागेको उनले दाबी गरे। ‘अब त वैशाखमा चुनाव हुन सक्दैन भन्ने लगभग पुष्टि भइसक्यो,’ प्रचण्डले अघि भने, ‘अदालतमा चलेको बहस तपाईहरुले हेर्नुभएकै छ, निर्वाचन आयोगको काम पनि देख्नु भएको छ, दलहरुको पनि …। त्यसकारण यदि प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश कदमलाई सदर गरियो नेपाल निक्कै ठूलो राजनीतिक भूमरीमा पर्छ।’
प्रचण्डले ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्नेबारेमा प्रश्न उठेको बताए। ‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ। उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ। मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ,’ उनले भने, ‘मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ। यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि। नेपाली जनताले प्रश्न उठाएका छन्। केपीजी कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ?’प्रचण्ड माधव पक्षले बुधबारका लागि राजधानीमा विशाल आमसभाको तयारी समेत गरिरहेको छ। आमसभाको अघिल्लो दिन मंगलबार बिहान ९ बजे उक्त समूहले पत्रकारहरुसँग भेट गरेको हो। गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड-माधव पक्ष निरन्तर सडक आन्दोलनमा छ। उनीहरुले संसद पुनर्स्थापनाको माग गर्दैआएका छन्।