लोकतन्त्रको नै हत्या गर्ने चुनाव चाहिँदैन – प्रवक्ता


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २८ २०७७
3.8K
SHARES

२८ माघ काठमाडौं। आज नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्न एक मिनेट पनि अधिकार नभएको बताएका छन्। राजधानीमा आयोजित विरोधसभामा श्रेष्ठले प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीलाई पदमा बस्न वैधानिक अधिकार नहुने बताए।

उनले भने, ‘एक मिनेट पनि प्रधानमन्त्रीलाई पदमा बस्ने वैधानिक अधिकार छैन।’ प्रवक्ता श्रेष्ठले ओली फासीवाद तर्फ उन्मुख भएको आरोप लगाए। उनले भने ‘केपी ओलीले फासीवादलाई बढावा दिँदैछन्। केपी ओली फासिस्ट हुन्।’

उनले प्रधानमन्त्रीको प्रतिगामी कदम असफल बनाएर संसद सुचारु गर्नु, संवैधानिक आयोगहरुमा भएको नियुक्ति खारेज गर्ने र केपी ओलीको बलमिच्याईं अन्त्य गरेर लोकतन्त्रक रक्षा गर्नु आन्दोलनको उद्देश्य रहेको बताए। उनले जनताले जीवन सुधार हुने समाजवादको आधार तयार हुने सोचेका तर ओलीले त्यसलाई पूरा हुन नदिएको आरोप लगाए।

श्रेष्ठले लोकतन्त्रलाई कार्यकारी बनाउन चुनाव चाहिने भएर पनि गैरसंविधानिक बाटोबाट हुने चुनाव अस्वीकार्य हुने दाबी थियो। उनले भने, ‘चुनाव लोकतन्त्रको अंग हो। तर लोकतन्त्रको हत्या गर्ने चुनाव चाहिँदैन। चुनावका लागि हामी सबै तयार छौं। तर कुन चुनाव ? संविधान अन्तर्गतको चुनाव कि संविधानलाई ध्वस्त बनाउने चुनाव ? यो चुनाव गर्न घोषणा गरिएको होइन। चुनाव नगर्न गरिएको घोषणा हो।’