ओली जी देख्नुभयो सभा कस्तो हुन्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २८ २०७७
13.5K
SHARES

२८ माघ काठमाडौं। आज नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ गते सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए । त्यसअनुसार ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

बुधबार आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिएका छन् । आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’

उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने पनि चेतावनी दिएका छन । प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरेका छन । ‘यो उपस्थितिले अदालतलाई सहज भएको छ । संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला गर्न’ उनले भने ।

प्रचण्डले खुट्टा नकमाउन निर्वाचन आयोगलाई पनि सचेत गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा गएर धम्क्याएको भन्दै उनले खुट्टा नकमाउन आग्रह गरेका हुन् ।

पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको उनले बताएका छन । ३० दिने हदम्याद कट्यो भन्नु काइते तर्क भएको भन्दै उनले भने, संवैधानिक निकायले गलत गरे देशले दुःख पाउँछ, खेलाँची नठाने हुन्छ ।’

उनले प्रधानमन्त्रीले भनेअनुसार गर्न सजिलो नठान्न पनि निर्वाचन आयोगलाई सचेत गराएका छन । ‘कसैले सजिलो नठाने हुन्छ, नेपाली जनतालाई हेप्ने कोशिस कसैले नगरे हुन्छ’ प्रचण्डले भने ।