स्कुल बस दुर्घटना हुदा एकको मृत्यु, २२ जना घाइते
१० चैत दाङ । आज दाङको तुलसीपुरमा स्कूल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाए अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ ।
अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।