साउदीसँग निहुँ खोज्दा भारतलाई भारी पर्‍यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०७७
7.6K
SHARES

२४ चैत काठमाडौं। साउदी अरेबियासँग निहुँ खोज्दा भारतलाई भारी परेको छ। साउदी अरेबियालाई झुकाउने उद्देश्यसहित भारतले एउटा नीति लिँदा साउदी अरबले उल्टै भारतलाई अप्ठ्यारो पार्ने निर्णय गरिदिएको हो।

भारतले साउदी अरेबियालाई पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध गरेको थियो। तर, भारतको अनुरोध अस्वीकार गर्दै साउदी अरेबियाले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

साउदीले मूल्य बढाएपछि भारतले साउदीलाई झुकाउने उद्देश्यसहित साउदीबाट तेलको आयातमा कटौती गरेको थियो। तर, साउदीले भारतको कटौतीले आफूलाई कुनै फरक नपर्ने संकेत गर्दै मे महिनाबाट लागू हुने गरी एसियाली देशहरुमा निर्यात गरिने कच्चा तेलको मूल्य बढाएको छ। जबकि उसले युरोपमा पठाउने तेलको मूल्य भने यथावत राखेको छ। साउदीले आइतबार मूल्य वृद्धिको आधिकारिक घोषणा गरेको हो।

साउदीको यो निर्णयले भारतसँगै नेपाललाई पनि धक्का लाग्नेछ। नेपालले कुनै पनि कच्चा तेल उत्पादकबाट सिधै कच्चा तेल (क्रुड) किन्दैन। नेपालमा क्रुडलाई प्रशोधन गरिसकिएपछिको पेट्रोलियम मात्र आयात हुन्छ। नेपाल आयात हुने इन्धन भारतमा प्रशोधन भएर आउँछ। भारतमा आउने तेलको मूल्य बढ्दा यसको सोझो असर नेपालमा पनि पर्नेछ र नेपालमा पनि मूल्य बढ्नेछ।

ब्लुमबर्गको एक रिपोर्टअनुसार साउदी अरबकोले कच्चा तेलको मूल्यमा २० देखि ३० प्रतिशत वृद्धि गरेको छ। साउदी अरेबियाको सरकारी कम्पनी अरामकोले हरेक महिना तेलको मूल्य निर्धारण गर्छ।