राहुल गान्धीको र्‍यालीमा जुट्दै विपक्षी समर्थक


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८३
114
SHARES

१५ कात्तिक काठमाडौं । भारतको नयाँ दिल्लीको रामलीला मैदानमा आइतबार र्‍यालीको आयोजना गरिँदै छ । विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धनको र्‍यालीमा सहभागी हुन देशका विभिन्न भागबाट समर्थकहरू जुट्न थालेका छन् ।मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउनुपर्ने माग र मतदाता नामावलीको विशेष गहन पुनरवलोकन (एसआईआर)को विरोधमा र्‍याली आयोजना गरिएको हो । विपक्षी गठबन्धनले यसलाई ठूलो राजनीतिक बदलावको संकेतका रूपमा प्रस्तुत गरेको छ । तर, भारतीय जनता पार्टी (बीजेपी)ले गठबन्धन अस्तित्वमै नरहेको दाबी गर्दै चुनावमा घटक दलहरू अलग–अलग प्रतिस्पर्धा गर्ने गरेको बताएको छ ।

दिल्ली ट्राफिक प्रहरीले जारी गरेको सूचनामा रामलीला मैदानमा ठूलो संख्यामा मानिसहरू आउने सम्भावना छ । जसका कारण त्यहाँको यातायात प्रभावित हुन सक्छ । पश्चिमी दिल्लीका विभिन्न क्षेत्रमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ । केही स्थानमा सवारीसाधनको मार्ग परिवर्तन गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

बीबीसी संवाददाता शाद मिद्हतका अनुसार, राहुल गान्धीको र्‍यालीलाई लक्षित गरी मिन्टो रोडमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कांग्रेसका कार्यकर्ता पनि कार्यक्रमस्थलमा जुटिरहेका छन् ।

विपक्षी दलहरूले र्‍यालीलाई ‘भोट बचाओ, देश बचाओ’ नाम दिएका छन् । र्‍याली मार्च कनॉट प्लेसबाट सुरु भई अजमेरी गेट हुँदै रामलीला मैदान पुग्ने कार्यक्रम छ ।

र्‍यालीबारे शिवसेना (यूबीटी)का सांसद सञ्जय राउतले लाखौँ मानिस सहभागी हुने दाबी गरे । उनीहरूलाई रोक्ने प्रयास भइरहेको उनले बताए । यता, उत्तर प्रदेशका मन्त्री नरेन्द्र कश्यपले इन्डिया गठबन्धनको एकतामा प्रश्न उठाउँदै घटक दलहरू चुनावमा अलग–अलग प्रतिस्पर्धा गर्ने र एकअर्काविरुद्ध बोल्ने गरेको टिप्पणी गरेका छन् । दिल्लीमा यस्ता र्‍यालीले स्थानीय बासिन्दालाई सास्ती दिने गरेको उनको भनाइ छ ।