गर्मीका कारण युरोपको अर्थतन्त्रमा ११३ अर्ब युरोको क्षति


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०८३
912
SHARES

९ असोज काठमाडौं । युरोपमा यस वर्षको गर्मीले अर्थतन्त्रमा ठूलो असर पारेको छ । अत्यधिक गर्मीका कारण युरोपको अर्थतन्त्रमा करिब ११३ अर्ब युरोको क्षति भएको जर्मन बिमा कम्पनी ‘आलियान्ज’ को प्रक्षेपण छ ।यो क्षति यस वर्ष युरोपको अनुमानित आर्थिक उत्पादनको करिब ०.५ प्रतिशत बराबर हो ।

आलियान्जका अनुसार, इटालीले करिब २८ अर्ब युरोको सबैभन्दा ठूलो आर्थिक क्षति व्यहोरेको छ । त्यसपछि २५ अर्ब युरोको क्षतिसहित जर्मनी दोस्रो स्थानमा रहेको छ भने २० अर्ब युरोको आर्थिक क्षतिसहित फ्रान्स तेस्रो स्थानमा छ ।

अत्यधिक गर्मीका बेला कर्मचारीको उत्पादकत्वमा कमी, लामो विश्राम र अनुपस्थितिका कारण उत्पादन तथा आर्थिक गतिविधिमा असर परेको आलियान्जले जनाएको छ ।

यी प्रभावको मूल्यांकन गर्न कम्पनीले नयाँ ‘क्लाइमेट रिस्क ट्र्याकर’ विकास गरेको छ । यसले मौसमी क्षतिसम्बन्धी तथ्यांकलाई आर्थिक प्रभावको मोडलसँग जोडेर गर्मी तथा अन्य जलवायुजन्य जोखिमको आर्थिक असर आकलन गर्छ ।

प्रतिवेदनमा पछिल्लो पाँच वर्षमा जर्मनीमा आँधीबेहरी, बाढी तथा अन्य प्राकृतिक विपद्का कारण करिब ५० अर्ब युरोको क्षति भएको उल्लेख छ । आलियान्जका अनुसार, सन् २००० देखि २०१९ बीचको औसतको तुलनामा हालैका वर्षहरूमा जर्मनीमा प्राकृतिक विपद्बाट हुने वार्षिक क्षति करिब दोब्बर भएको छ ।