विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
२९ चैत काठमाडौ । कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ। आज बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण बढी देखिएका ठाउँमा ३ साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो। मन्त्रिपरिषद् निर्णय गरेपछि लागु हुनेछ।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षमा सिंहदरवारमा बसेको बैठकले काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट) को मात्रा बढेकोले यस्तो व्यवस्था गर्न सिफारिस गरिएको हो। अहिले विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्नको व्यवस्था गरि विद्यालय बन्दका लागि सिफरिस गरिएको हो।