बालेनको भ्रमणबारे शंकरको टिप्पणी- राष्ट्रिय मुद्दा ओझेलमा
८ मंसिर रुपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण मुद्दा ओझेलमा परेको टिप्पणी गरेका छन् । हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन र नेपाली उत्पादनको भारतीय बजार पहुँचका विषयमा ठोस छलफल हुन नसकेको उनको भनाइ छ । प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले काठमाडौं महानगरपालिकामा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने प्रधानमन्त्रीबाट सीमा समस्या र ऐतिहासिक सन्धिका विषयमा पहल हुने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको बताए ।
‘ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकामा टाँसेर बस्ने प्रधानमन्त्रीले नेपाल–भारत सीमाका बारेमा छलफल गर्नुहोला भन्ने लागेको थियो । कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्थ्यो, तर त्यो विषय नै बनेन,’ उनले भने ।
नेपालले लामो समयदेखि उठाउँदै आएको सन् १९५० को सन्धि पुनरावलोकनको विषय भ्रमणको प्राथमिकतामा नपरेको उनले बताए । यस्तै, नेपाली चिया, अलैँची र तरकारीले भारतीय बजारमा सहज प्रवेश नपाइरहेको अवस्थामा सरकारले समाधान खोज्न नसकेको उल्लेख गर्दै उनले भने, ‘भारतबाट आउने उत्पादनले प्राथमिकता पायो, तर आफ्नो उत्पादन भारत पठाउने कुरामा ध्यान गएन ।’हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि त्यसको कार्यान्वयन मुख्य पक्ष भएको पोखरेलको धारणा छ । विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भएर कार्यान्वयन नभएको स्मरण गर्दै उनले यसपटक पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।
विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको रास्वपाकै नेतृत्वको सरकारले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नु उसको पुरानो दृष्टिकोणमा आएको परिवर्तन भएको पोखरेलले टिप्पणी गरे ।
‘विगतमा लोकतन्त्रका लागि लडेका दललाई लगाइएको आक्षेप कति मिथ्या रहेछ भन्ने पुष्टि भएको छ । विदेशी ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गर्नुभएको छ,’ उनले भने । यद्यपि, भारतको एक्जिम बैंकबाट प्राप्त ऋण परिचालनका जटिलता र सडक निर्माणमा भएको ढिलाइले कार्यान्वयनको व्यावहारिक कठिनाइ देखाएको उनको भनाइ छ ।
महासचिव पोखरेलले वर्तमान सरकार सुशासन र विकास दुवै मोर्चामा कमजोर साबित भएको आरोप लगाए । ‘नो लाइन’ को नारा दिएर सत्तामा आए पनि सरकारी सेवा प्रवाह झन् अव्यवस्थित बनेको, विदेशिने युवाको संख्या र सेवाग्राहीको लाइन बढेको, लगानीको वातावरण नबनेको तथा पुँजीगत खर्च कमजोर हुँदा विकास निर्माणले गति लिन नसकेको उनले बताए ।
भोटेकोसी बाढीबाट विस्थापितको पुनर्स्थापना लगायत विपद् व्यवस्थापन तथा बजारको मूल्यवृद्धि र अराजकता नियन्त्रणमा समेत सरकार असफल भएको उनको आरोप छ । सरकार वास्तविक समस्या समाधानभन्दा सामाजिक सञ्जालमा केन्द्रित भएको टिप्पणी गर्दै उनले भने, ‘सरकार सोसल मिडियामा सफल भए पनि यथार्थमा कमजोर साबित भएको छ । जनताका सरोकार सम्बोधन गर्न सरकार असफल भयो ।’
सरकारका कामकारबाहीप्रति बढ्दो निराशाले सामाजिक असन्तुष्टि र अराजकता निम्त्याउन सक्ने चेतावनी दिँदै पोखरेलले जनअसन्तुष्टि सम्बोधन नभए बंगलादेशको जस्तो अवस्था आउन सक्ने बताए । गएको निर्वाचनमा जनताले पुराना दललाई दण्डित गरेको स्मरण गर्दै उनले पुराना दलहरूले आफूलाई नयाँ विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्र नै संकटमा पर्न सक्ने धारणा राखे । संविधान निर्माण र लोकतन्त्र स्थापनामा भूमिका खेलेका दलहरूले जनतासँग टुटेको सम्बन्ध सुधार्न एमालेले राष्ट्रिय भेलामार्फत अभियान थालेको उनले जानकारी दिए ।
समय र आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने भए पनि संघीय लोकतन्त्रको आधारभूत संरचना कमजोर पार्ने गरी संशोधन हुन नहुनेमा उनले जोड दिए । संसद् र राजनीतिक दललाई बेवास्ता गर्ने प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक नभएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीको स्वेच्छाचारिता नियन्त्रण गर्न नसके रास्वपा आफैँ संकटमा पर्ने चेतावनी दिए । लोकतन्त्रको रक्षाका लागि एमाले अन्य दलसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।
महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा एमाले स्पष्ट रहेको बताए । स्थानीय तहको कार्यकाल वैशाखमा र प्रदेशसभाको कार्यकाल मंसिरमा सकिने भएकाले दुवै निर्वाचन एकैपटक गर्न सम्भव नहुने उल्लेख गर्दै उनले सरकारले यस विषयमा अन्योल सिर्जना गरेको आरोप लगाए । स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउनु स्वीकार्य नहुने र निर्वाचन समयमा नभए राष्ट्रियसभा गठन, राष्ट्रपति निर्वाचन प्रक्रिया तथा संघीय लोकतन्त्रकै आधारभूत संरचनामा असर पर्ने उनले बताए ।
पोखरेलले आगामी स्थानीय निर्वाचनमा वामपन्थी शक्तिबीच चुनावी तालमेल हुन सक्ने संकेतसमेत गरे । विगतमा माओवादीले एमाले र कांग्रेससँग गरेको तालमेलको अनुभवबाट वामपन्थीबीच मत हस्तान्तरण र सहकार्यको आवश्यकता महसुस भएको उनको भनाइ छ । यद्यपि, यसबारे औपचारिक छलफल नभएको स्पष्ट पार्दै उनले भने, ‘तल तालमेल गर्दा राम्रो हुन्छ भन्ने कुरा अनौपचारिक रूपमा उठेका छन्, त्यति हो ।’