तत्काल १८४ अर्ब ऋण लिने होइन – अर्थमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८३
57
SHARES

८ मंसिर काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए ।

नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ ।

विशेषगरी प्रसारणलाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उनले बताए । यसअघि डलरमा ऋण लिँदा विनिमयदरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

यद्यपि १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनको भनाइ छ ।

यस्तो छ अर्थमन्त्री वाग्लेको भनाइ :

नेपालले विगत १०–१२ वर्षदेखि गर्दै आएको कूटनीतिक प्रयासपछि लुम्बिनीका लागि एकतर्फी हवाई प्रवेशमार्गलाई द्विपक्षीय बनाइएको छ । यो नेपालको नागरिक उड्डयन क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हो । आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाकाबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने लक्ष्य रहेको छ ।

बागडोगरासँग सम्बन्धित १२५ किलोमिटर क्षेत्रको विषयमा फैलिएका समाचार तथा हल्लाहरू पूर्णतः निराधार, भ्रामक र कपोलकल्पित हुन् । त्यस्ता कुरामा कुनै सत्यता छैन ।

त्यसैगरी, सुनकोसी–सप्तकोसी उच्च बाँध आयोजनासम्बन्धी विषय पनि नयाँ होइन । सन् २००४ देखि नै विराटनगरमा नेपाल–भारत संयुक्त परियोजना कार्यालय स्थापना भई यस आयोजनाको अध्ययन तथा तयारी हुँदै आएको छ ।

नेपाल–भारत भिजन डकुमेन्टमा उल्लेख गरिएका १० वटा प्रमुख स्तम्भ नै यसको कार्यक्षेत्र र उद्देश्य हुन् । कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद तथा पर्यटनलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउनु यसको मुख्य उद्देश्य हो । यो दस्तावेज दुई देशबीचको सहकार्यलाई दीर्घकालीन दृष्टिकोणका साथ अगाडि बढाउने मार्गनिर्देशन हो ।

त्यसैगरी, भारतबाट प्राप्त सहुलियतपूर्ण ऋण तथा लाइन अफ क्रेडिट विशेषगरी ऊर्जा र पूर्वाधार विकासमा उपयोग गर्ने उद्देश्य राखिएको छ । अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमा ऋण लिन र भुक्तानी गर्न सकिने विकल्प प्राप्त हुनु महत्त्वपूर्ण उपलब्धि हो । यसले विनिमयदरको जोखिम घटाउन सहयोग गर्नेछ ।

समग्रमा, भारत भ्रमणबाट नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटसहित महत्त्वपूर्ण आर्थिक तथा कूटनीतिक उपलब्धि हासिल गरेको छ । यी उपलब्धिले नेपालको पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय सम्पर्क सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ । यस सहयोगका लागि नेपाल सरकार भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।