आर्थिक वृद्धि चुनौतीपूर्ण : अर्थमन्त्री
१४ जेठ काठमाडौं। अहिले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी एक हजार चार सय ८६ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। यो गत आर्थिक वर्षभन्दा चार दशमलव पाँच प्रतिशत बढी हो।
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान गरिएको छ। आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी ३०.४ प्रतिशतले सकुंचन भएको थियो। चालु आर्थिक वर्षमा १८.१ प्रतिशतले वृद्धि भएर १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ पुग्ने अनुमान छ। कुल गार्हस्थ्य उत्पादनसँग बचतको अनुपात ६.६ पुग्ने अनुमान छ।
कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक गतिविधिमा संकुचन आएको भएतापनि चालु आर्थिक २०७७/७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु संतोषजनक रहेको अर्थमन्त्री विष्णु पौडेलको दाबी छ। चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४२ खर्ब 6६ अर्ब ३२ करोड रुपैयाँ रहने प्रारम्भिक अनुमान रहेको छ।
आर्थिक वर्ष २०७६/७७ मा कोभिड-१९ महामारीबाट मुलुकको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक छ। चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएकोले स्वास्थ्य संकटको अवस्थामा क्रमश: सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएको छ।
चालू आर्थिक वर्षमा मुलुकमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए। यसअघि स्वास्थ्य संकटको अवस्थामा सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ४.०१ प्रतिशत अनुमान गरिएको थियो। तर, कोभिडको दोस्रो लहरको संक्रमण तीव्र बनिरहेकाले अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने काम चुनौतीपूर्ण रहेको उनले बताए।