एमाले विवाद : मध्यरातसम्म याक एन्ड यतीमा के भयो ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
14.3K
SHARES

१८ जेठ काठमाडौं।हिजो राति नेकपा एमालेको स्थायी समिति बैठकअघि अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षका नेताबीच छलफल भएको छ।

राति अबेरसम्म याक एण्ड यति होटेलमा दुई पक्षका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो।पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने विषयमा छलफल भएको हो।

छलफलमा ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए।

मंगलबार भएको बैठकपछि अहिलै कुनै निर्णय भइहाल्ने सम्भावना भने कम रहेको ओली पक्षबाट वार्तामा जुटेका नेताहरूको भनाई छ। एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले एमालेलाई एकताबद्ध बनाउने विषयमा दुवै पक्षका नेताहरू संवादकै क्रममा रहेको बताए।

‘पार्टी एकताबद्ध बनाउनुपर्छ भन्ने आम कार्यकर्ताको भावना हो। त्यो भावना समेट्न हामी लागिरहेका छौं। त्यही सिलसिलामा सोमबार पनि हामी बस्यौ, अझै प्रयास जारी राख्छौं,’ नेता नेम्वाङले भने, ‘र,आशावादी पनि छौं।’

उनले आफूहरूबिचको वार्ता र विषयवस्तुबारे शीर्ष नेताहरूलाई पनि जानकारी गराइरहेको बताए। ‘दुवैतर्फका नेताहरूले शीर्ष नेतालाई छलफलबारे ब्रिफिङ भइरहेको छ,’ नेम्वाङको भनाइ छ। अर्का नेता सुरेन्द्र पाण्डेले पनि पार्टी एकता बच्नेमा आशा अझै कायमै रहेको बताए।