शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन्छौं – अर्थमन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
10.6K
SHARES

२५ जेठ काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम आगामी आर्थिक वर्षको सुरुवाती दिनदेखि नै कार्यान्वयनमा लैजाने बताएका छन्।

अनेरास्ववियुको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वय हुने बताए।

चालू आर्थिक वर्षको असार मसान्तभित्रै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका निम्ति आवश्यक निर्देशिकालगायतका पूर्वतयारीको काम सम्पन्न गरिसक्ने भन्दै उनले आगामी आर्थिक वर्षको १ साउनदेखि नै बजेट कार्यान्वयन प्रक्रियालाई तीव्रता दिइने बताए।

शैक्षिक ऋण दिने कार्यक्रम कार्यान्वयनमा कुनै द्विविधा नराख्न भन्दै उनले ऋण लिन चाहने विद्यार्थीले आफ्नो परियोजनाबीचमा असफल नहुने गरी अनुभवी व्यक्ति र संस्थाको सहयोगमा बनाउन आग्रह पनि गरे।

उनले भने ‘शैक्षिक ऋणसँग सम्बन्धित वा अरू शिक्षा क्षेत्रमा जे-जस्ता मौलिक कार्यक्रम अगाडि सारेका छौं। नियमित कार्यक्रमहरू छन्। तिनको प्रभावकारी कार्यान्वयन हुन्छ। कुनै द्विविधा, अन्योल, अस्पष्टता नराख्नका लागि, आग्रह गर्न चाहन्छु। यहाँहरूले कुरेर बस्नुपर्ने स्थिति हुँदैन। शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने जुन खालको प्रबन्ध छ, यो बजेटको प्रबन्ध कार्यान्वयन हुन्छ।

ऋण लिन चाहने युवाहरूले आफ्नो परियोजना निर्माण गर्दा बीचमै असफल भएर हिड्नु नपर्ने गरी त्यसको तयारीमा ध्यान दिनका लागि अनुभवी व्यक्ति, संस्थाहरूबाट सहयोग लिन उत्प्रेरित गराउनुहोला। यो कार्यान्वयन हुन्छ। शीघ्र कार्यान्वयन हुन्छ।’