क्यानडामा प्रचण्ड गर्मीले ७० को मृत्यु, अमेरिका पनि प्रभावित
१६ असार एजेन्सी । प्रचण्ड गर्मीका कारण क्यानडामा सोमबारसम्म ७० जनाको मृत्यु भएको छ । ब्रिटिश कोलम्बियाका प्रहरीले मृत्युको यो तथ्यांकलाई पुष्टि गरेका हुन । दक्षिणी प्यासिफिक उत्तरपश्चिममा तापक्रम निरन्तर बढ्दो क्रममा छ ।
ब्रिटिस कोलम्बियाको प्रहरीले ७० जनाको अप्रत्यासित रुपमा निधन भएको र अधिकांश पाको उमेरका रहेको जनाएको छ । ती मृत्युहरुको कारण प्रचण्ड गर्मी र तातो हावा रहेको प्रहरीले बताएको छ ।
मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी तहमा पुग्यो । ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको हो । यो हप्ता पहिले क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्री भन्दा माथि पुगेको थिएन ।
जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्ने देखिएको भन्दै स्थानीय प्रशासनले स्थानीय बासिन्दासँग आफूसँगै छिमेकीका बारेमा पनि ख्याल गर्न आग्रह गरेका छन् ।
अझै केही दिन तापक्रम अझै उच्च रहने र तातो हावा चल्ने चेतावनी इन्भाइरोमेन्ट क्यानडाले दिएको छ। यसैबीच अमेरिकामा पनि गर्मी निरन्तर बढ्दो क्रममा छ । अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० मा तथ्यांक राख्न थालिए यताकै उच्च पुगेको छ ।
ओरिगनको पोर्टल्याण्डको तापक्रम ४६.१ डिग्री सेल्सियस र सियाटलको ४२.२ डिग्री सेल्सियस पुगेको हो । स्थानीय बासिन्दाले गर्मीका कारण आफूहरु मरुभूमिमा रहे जस्तै लागेको प्रतिक्रियाा दिएका छन । त्यहाँ अझै केही दिन तापक्रम उच्च रहने भन्दै सचेत रहन आग्रह गरिएको छ ।