मनकामना स्मार्ट लघुवित्तकाे आईपीओ भर्ने आज अन्तिम दिन


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २१ २०७८
4K
SHARES

२१ असार काठमाडौ । असार १७ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज  अन्तिम दिन हो।

लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ६ः१५ बजेसम्ममा आईपीओमा १७ लाख ६३ हजार ७९४ जनाले आवेदन दिएका छन्।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ।