काठमाडौं महानगरको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित
२५ असार काठमाडौं ।आज काठमाडौं महानगरको आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास भएको भएको छ । नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पास गरेको हो ।
असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौं महानगरपालिका आर्थिक विधेयक, २०७८’ पेस गरेका थिए । सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आ. व. २०७८/७९ का लागि बजेट पेस गरेकी थिइन् ।
उपप्रमुख खड्गीले कुल १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट पेस गरेकी थिइन । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर–मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धन जस्ता उदेश्य हासिल गर्ने लक्ष्यसहित प्रस्तुत बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको मेयर शाक्यले जानकारी दिए ।
कुल बजेट मध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरू र आयोजनाको खर्चबापत २ अर्ब ८७ करोड ७ लाख रहेको महानगरपालिकाले जानकारी दिएको छ । १६ अर्ब ८ करोड ७० लाख १२ हजार महानगरपालिकाको संचितकोषमार्फत हुने खर्च हो ।
महानगरपालिकाले नै दिएको जानकारी अनुसार नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शसर्त योजना (शिक्षक तलब, स्वास्थ्य, कृषि आदि) मा १ अर्ब ३२ करोड १४ लाख १० हजार रहेको छ । निशर्त बजेट भने १४ अर्ब ७६ करोड ५६ लाख २ हजार रहेको छ ।
आज पारित बजेटमा सबै करदातालाई ०७८ पुस मसान्तसम्म १० प्रतिशत छुट दिइएको छ भने होटललाई थप ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘‘व्यवसाय करमा होटल मनोरञ्जन प्रदायक र पर्यटनसँग सम्बन्धित व्यवसायमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ,” महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले भने, ‘‘अन्य व्यवसायहरूलाई २० प्रतिशत र सैलुन, ब्युटिपार्रलर जस्ता व्यवसायलाई ९० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।”
आजको बैठकले न्यायिक समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन, सहरी योजना आयोगको प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।
बजेटमा ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न गर्ने, मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय जस्ता विषय बजेटमा समावेश गरिएको छ ।
त्यसैगरी बजेटमा प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरू, ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण जस्ता विषय पनि बजेटमा समावेश गरिएको छ ।
त्यस्तै मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन,उद्यमशिलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिकलगायतका कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ ।