सर्वोच्चको फैसलापछि नेप्सेमा तिव्र उतारचढाव
२८ साउन काठमाडौ।साताको दोस्रो दिन नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिन आइतबार करिब ७५ अंकले बढेको नेप्से,आज घटेको हो।बजार खुलेको करिब डेढ घण्टासम्म उकालो लागिरहेको नेप्से, सर्वोच्च अदालतको फैसलापछि तिव्र उतारचढाव देखिएको हो।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई बदर गरी संसद पुनःस्थापना गर्ने आदेश दिएसँगै बजार ओरालो लागेको छ। तर, २८ घण्टाभित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेको समाचारले बजारमा तिव्र उतारचढाव देखिएको थियो।
नेप्से ओरालो लागेपनि आज २८५० भन्दा तल जान सकेको छैन। नेप्सेले सो टेवा विन्दुलाई बारम्बार परीक्षण गरेको प्राविधिक विश्लेषकहरु बताउँछन्।
सोमबार नेप्से परिसूचक ४५.१२ अंक घटेर २८५४.७० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ८.६५ अंक घटेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक घटेको हो।
सूचक ओरालो लागेपनि कारोबार रकममा भने सुधार देखिएको छ। सोमबार बजारमा २२९ कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।