ललितपुर महानगरपालिकाको बजेट पारित


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
9.6K
SHARES

२ साउन ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाख रुपैयाँको बजेट पारित गरेको छ । महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ९१ करोड ६१ लाख ५७ हजार र पुँजीगत खर्चतर्फ तीन अर्ब २४ करोड ३० लाख रुपैयाँ छुट्ट्याएको छ ।

पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताए । “पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ,” उनले भने, “विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ ।

वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन
महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । १३ वटा वडालाई सबैभन्दा बढी तीन करोड २५ लाख, आठवटा वडालाई दुई करोड ५० लाख र सातवटा वडालाई दुई करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

महानगरपालिकाका प्रमुख महर्जनका अनुसार वडा नम्बर–१२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा तीन करोड २५ लाख, वडा नम्बर–२, ३, ४, ५, ९, १३, १५ र १७ मा दुई करोड ५० लाख तथा वडा नम्बर–१, ६, ७, ८, १०, ११ र १९ मा दुई करोड १५ लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ ।

महानगरपालिका बनाउने क्रममा गाभिएका वडामा धेरै काम गर्न बाँकी रहेकाले बढी बजेट विनियोजन गरिएको प्रमुख महर्जनले बताए ।

यसैगरी, महानगपालिकाले महानगरीय योजनाअन्तर्गत वडा नम्बर–११ मा विद्युतीय शवदाहगृह निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । शवदाहगृह सञ्चालनका लागि शवदाहयन्त्र सहयोगस्वरुप प्राप्त गर्ने पनि उनले जानकारी दिए ।

त्यसैगरी, महानगरपालिकाले लगनखेलस्थित सप्तपातल र राजदलगण परिसरमा रहेको पोखरी निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । वडा नम्बर–२१ मा रुद्रायणी र वडा नम्बर–१३ मा पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माण, वडा नम्बर–२४ मा आयुर्वेदिक अस्पताल र वडा नम्बर–२७ स्थित कृष्ण मन्दिर पुनर्निर्माणसमेत यस आवमा सुरु गरिने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि सात करोड र कोभिड विशेष कार्यक्रमका लागि पाँच करोड रुपैयाँ छुट्ट्याएको प्रमुख महर्जनले जानकारी दिए । रासस