१३ खर्ब रकम एनसीएचएलमार्फत् भुक्तानी
१५ साउन काठमाडौं । एनसीएचएलका विभिन्न प्रणालीमार्फत् आर्थिक वर्ष २०७७/०७८ मा १३ खर्ब नगदरहित भुक्तानी कारोबार भएको छ । एनसीएचएलले एनसीएचएल–इसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएसलगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तिय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरूले प्रयोग गर्ने च्यानलहरू संचालन गर्दै आएको छ ।
यस अवधिमा कुल ४ करोड ४७ लाख बढी भुक्तानी कारोबार भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११७ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानी वृद्धी गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेसनल पेमेन्ट स्विचमार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास लिएको जनाइएको छ ।
नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरूबाट प्रर्बद्धित यस नेपाल क्लियरिङ हाउसले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ती राष्ट्रिय स्तरका भुक्तानी तथा फर्स्याैटका प्रणालीहरू निर्माण तथा सञ्चालन गर्दै आएको छ । यसमा ५९ बैंक वित्तिय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरू आबद्ध छन् ।