कस्तो रह्यो यो साता शेयर बजार ?
१६ साउन काठमाडौं। लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ। शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो।
साताभर कूल २२५ कम्पनीको ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार १४५ बराबरको कारोबार भयो। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता शेयर कारोबार भयो। सबै दृष्टिकोणबाट हेर्दा साताभर शेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको नेप्सेमा ऐतिहासिक बिन्दु कायम गरेर तीन हजार १०० को बिन्दुमाथि पुगेको थियो। साताको अन्तिम दिन भने नेप्सेमा करेक्सन देखियो। बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएको तथा अधिक तरलता रहेका कारणले पनि शेयर बजारमा सकारात्मक प्रभाव देखा परेको हो।
यस्तै आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणसमेत प्रकाशन हुन थालेकाले पनि बजारलाई सकारात्मक लय दिन सफल भएको हो। गत असार महिनाभर नेप्सेमा लगातार करेक्सन देखिएको भए पनि साउन लागेदेखि बजारले गति समात्दा लगानीकर्तामा उत्साह देखिएको छ।
शेयर बजारका जानकारका अनुसार नेप्सेमा ‘बुलिस ट्रेण्ड’को दबदबा कायमै छ। सोही कारण पनि हरेकजसो उपसूचकमा सकारात्मक प्रभाव देखिएको छ। यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४।३१ विन्दुले उकालो लागेर तीन हजार ५८।६३ मा पुगेको थियो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।७४ विन्दुले बढेर ५७४।०२ मा पुग्दा कारोबार रकम पनि उल्लेख्य वृद्धि भयो। कूल २२३ कम्पनीका चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको थियो। कारोबारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रही रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भएको थियो।
आइतबार उच्च अंकले बढेको कारोबार मापक नेप्से परिसूचक सोमबार ८।२४ बिन्दुले ओरालो लाग्यो। त्यसदिन नेप्सेमा करेक्सन भई तीन हजार ५०।४२ मा ओर्लेको थियो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।९३ बिन्दुले ओरालो लागेर ५७१।१० मा झरेको थियो।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ। कूल २२३ कम्पनीका तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद बिक्री भए। कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको थियो।
कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रही रु ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो। सोमबार कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर, माउण्टेन हाइड्रो नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको थियो।
नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भयो। त्यस दिन बजार पूँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुग्यो। लगानीकर्ताको ध्यान विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको शेयरमा परेको नेप्सेको विवरणबाट देखियो।
मंगलबार नेप्से २९।२४ बिन्दुले बढेर तीन हजार ७९।६७ मा पुग्यो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।१९ बिन्दुले बढेर ५७४।३० मा पुगेको थियो। कूल २२५ कम्पनीका तीन करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर रु १५ अर्ब १७ करोड छ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ। केन्द्रीय बैंकले सोमबार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्न निर्देशिका जारी गरेपछि त्यसदिन बैंकिङ २।६३ र लघुवित्त उपसमूहको शेयर ११६।६६ बिन्दुले घटेको थियो।
कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको थियो। सो बैंकको ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोवार भयो। नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लाग्यो।
बुधबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो। बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गर्यो। नेप्से १५।३० अंकले बढेर तीन हजार ९४।९४ मा पुग्दा तीन हजार १०० को बिन्दुको यात्रा तय गर्यो। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०२ बिन्दुले बढेर ५७४।३२ मा पुगेको छ। कूल २१९ कम्पनीका दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरिद बिक्री भए।
कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुग्यो। यो पनि हालसम्मकै उच्च अंक हो। कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लाग्यो। कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रही ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोबार भयो।
बुधबार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो। साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो। लगातार नयाँ-नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो। अन्तिम दिन नेप्से १५।११ बिन्दुले घटेर तीन हजार ७९।८३ मा ओर्लियो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४७ बिन्दुले घटेर ५७०।८५ कायम भयो।
कूल २१७ कम्पनीका दुई करोड ६० लाख ४० हजार २३ कित्ता १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो। बिहीबारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार बराबर भयो। कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५।४१ र विकास बैंक ५३।४ बिन्दुले बढ्यो।
कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा रही ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो। यस साता जलविद्युत् उपसमूहका लगानीकर्ताले सर्वाधिक धेरै कमाए। त्यसमा रिडी हाइड्रोपावरका लगानीकर्ताको ३१।१२ प्रतिशतले सम्पत्ति थपियो। यस्तै नेपाल हाइड्रो डेभलपर २८।३४, ङादी ग्रुप अफ पावर २७।२२, हिमालयन ऊर्जा विकास कम्पनी २६।७२ र यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २५।९९ प्रतिशतले आर्जन गरे।
त्यस्तै सिटिजन म्युचुअल फण्ड दुई ५।२१, एनआइसि एशिया ग्रोथ फण्ड ४।३४, सिभिल लघुवित्त ३।७६, ग्लोबल आइएमइ समुन्नत स्किम एक ३।७२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३।६५ प्रतिशतले कमाए। -रासस