थोरै समय सुतेर धेरै काम गर्नुपर्छ – अर्थमन्त्री शर्मा
१८ साउन काठमाडौं । आज नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाइ गरिएको छ । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाइ र नवनियुक्त सचिवको स्वागत गरे । अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए । अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरे ।
आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मिहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरूलेसमेत सोही स्प्रिटलाई मनन गर्न निर्देशन दिए ।
“मन्त्रालयमा टेबुलटेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटोछिटो काम गर्नुपर्छ,” मन्त्री शर्माले भने, “मन्त्रीले जान वा अन्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।”
नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत् रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मिहेनपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै उनले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पुर्याउने बताए ।
सचिव ढुङ्गानाले कोभिड–१९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरू विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । कोभिड महामारीकैबिच राजस्व सङ्कलनको लक्ष ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको सञ्चिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएको लगायतका सकारात्मक परिसूचकहरूसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए ।
अर्थ मन्त्रालय र मातहतका निकायहरूमा १३ वर्ष ९ महिना काम गरेका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरूको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरूको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरूको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिबेन्चर मार्केटको प्रवर्द्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतमा ध्यान केन्द्रित गर्नुुपर्ने सुझाव दिए ।