पाकिस्तानी प्रधानमन्त्रीको भवन भाडामा दिइने
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारी निवासलाई भाडामा दिइने भएको छ । पाकिस्तानी मन्त्रिपरिषद बैठकको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको बुझिएको छ । यसलाई संस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् ।
सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार बन्दा प्रधानमन्त्री इमरान खानले सरकारी आवासलाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । त्यसपछि इमरानले उक्त घर खाली गरेका थिए । अब विश्वविद्यालयको परियोजना छाडेर प्रधानमन्त्रीको आवासलाई भाडामा दिने निर्णय भएको छ ।
प्रधानमन्त्री आवासका अडिटोरियम, दुई गेस्ट विङ्ग र एउटा चौरलाई भाडामा दिने तयारी गरिएको बताइएको छ । यसमा कूटनीतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सेमिनार पनि आयोजना गर्न पाइनेछ । यसबाट सरकारले कमाइ गर्ने सोच राखेको छ ।
इमरान सत्तामा आएपछि ३ वर्षमा पाकिस्तानको अर्थतन्त्र १९ बिलियन अमेरिकी डलरसम्म खुम्चिएको छ । इमरान प्रधानमन्त्री बनेपछि उनले देशको अर्थव्यवस्थालाई सही ठाउँमा ल्याउन सरकारी खर्चमा व्यापक कटौती गरेका छन् । यसका बावजुद देशको ऋण ४५ हजार अर्ब रुपैयाँ पुगिसकेको इण्डिया टुडेले जनाएको छ ।