पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
3.6K
SHARES

२३ साउन काठमाडौ । तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिरोबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र  वडा नं ८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो ।

दुवै पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घ सरकारका तर्फबाट जनही रु दुई लाख र प्रदेश सरकारका तर्फबाट जनही रु ५० हजारका दरले राहत रकम प्रदान गरेका छन् । सो क्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताए ।

उनले गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिरोले सडकमा पुर्याएको क्षतिको समेत अवलोकन गरेका छन् । बाढीपहिरोले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल रु २५ लाख उपलब्ध गराएको थियो ।  बाढीपहिरोले सो गाउँपालिकाका थुप्रै घरमा क्षति पुगेको छ । घर क्षति भएकालाई पुनःस्थापनाका लागि प्रति घर रु चार लाख उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरेका छन् । – रासस