जनतालाई नियन्त्रित लोकतन्त्र स्वीकार्य छैन – नेता शरतसिंह भण्डारी
१८ असोज काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने स्पष्ट पारेका छन् । काठमाडौंको खुलामञ्चमा आइतबारदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गरेका हुन् ।
उनले वर्तमान चुनौतीहरू पार लगाउन प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता अपरिहार्य रहेको औँल्याए । नेता भण्डारीले प्राकृतिक विपद्, आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवाहरूको तीव्र विदेश पलायनले देश आक्रान्त बनेको बताए । उनले गत महिना भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । वर्तमान संविधानलाई समयानुकूल परिमार्जन र संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप समावेशी र परिणाममुखी बनाउनुपर्नेमा नेता भण्डारीले जोड दिए ।
उनले संविधान संशोधन र समावेशी राज्य निर्माणको जसपाको अभियानमा नेपाली काँग्रेसको सशक्त साथ रहने विश्वास लिएको बताए । “वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउँदै देशलाई पूर्ण समावेशिताको बाटोमा अघि बढाउने जसपा नेपालको अभियानमा नेपाली कांग्रेसको बलियो साथ र समर्थनको अपेक्षा गर्दछु,” उनले भने ।
बदलिँदो संवेदनशील भू–राजनीतिक परिवेशमा नेपालले सन्तुलित कूटनीति अवलम्बन गरेर मात्र राष्ट्रिय हितको रक्षा गर्न सक्ने उनको भनाइ छ । लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनअधिकारको संकुचन हुन नदिन सचेत रहनुपर्ने उल्लेख गरे ।