त्रिविका विद्यार्थीले पाउने भए कोरोना खोप, यी हुन् खोप केन्द्र


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०७८
5.8K
SHARES

२७ साउन काठमाडौं। त्रिभुवन विश्वविद्यालयले संचालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका निर्देशक झलक गौतमका अनुसार भौतिक रूपमा उपस्थिति भएर परीक्षा दिँदा विद्यार्थीले जोखिम मोल्नु परेको गुनासो बढेपछि खोप दिने भएको हो।

खोप लगाउन जाँदा विद्यार्थीले आफ्नो प्रवेशपत्र अनिवार्य बोक्नुपर्ने उनले बताए। विद्यार्थीले खोप काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर लगाउन पाउनेछन्। साथै अन्य जिल्लाको हकमा भने जिल्लाले नै तोकेबमोजिम स्थानमा खोप उपलब्ध गराइने गौतमले बताए।

हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न संकायको परीक्षा चलिरहेका छन्। त्रिविले स्वास्थ्य मापदण्डविपरीत परीक्षा संचालन गरेको भन्दै विद्यार्थीहरू पनि केही दिनदेखि आन्दोलित थिए। ‘हामीले अहिले जोखिमको आधारमा परीक्षा सहभागी हुने ६० हजार विद्यार्थीलाई खोप दिने निर्णय भएको छ,’ सचिव डा. रोसन पोखरेलले भने, ‘ प्रवेश पत्रका आधारमा खोप दिने व्यवस्था मिलाएका छौं।’