हैटीमा भूकम्पः ३०४ को मृत्यु, १८ सय बढी घाइते
३१ साउन एजेन्सी । हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । बीबीसीका अनुसार यस घटनामा १ हजार ८ सयभन्दा धेरैजना घाइते छन् ।
शनिबार बिहान आएको भूकम्पले हैटीको पश्चिमी क्षेत्रमा धेरै क्षति पुर्याएको छ । त्यहाँ भवन, होटल, चर्चलगायतका भौतिक संरचनाहरु भग्नावशेषमा परिणत भएका छन् ।
प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु रहेको छ । यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै प्रलयकारी भूकम्प गएको बिबिसीले जनाएको छ ।