मौद्रिक नीतिपछि सेयर २४ अंकले घट्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
10.2K
SHARES

३१ साउन काठमाडौ । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा तीव्र उतार–चढाव देखिँदा दोहोरो अंकले घटेर बन्द भएको छ । गएको बिहीबार ३१७८.९१ अंकको ऐतिहासिक उचाइमा बन्द भएको नेप्से आज २४.५७ अंकले गिरावट हुँदा ३४ अंकमा बन्द भएको छ ।

गएको शुक्रबार आएको मौद्रिक नीतिले एक व्यक्तिले लिने सेयर धितो कर्जामा कडाइ गर्नुका साथै हाल कार्यान्वयनमा रहेको कर्जा स्रोत परिचालन अनुपातलाई खारेज गर्दै कर्जा निक्षेप अनुपात (सीडी) रेसियो कार्यान्वयनमा ल्याएको थियो । मार्जिन कर्जामा सीमा तोकेको र सीडी रेसियो कार्यान्वयनमा आएसँगै बजारमा तरलता अभाव भएर ब्याजदर बढ्न सक्ने आशंका रहेको छ । जसको प्रभावस्वरूप सुरुवातमा नेप्सेमा उच्च गिरावट आएपछि अन्तिममा बजार केही सम्हालिएर ०.७७ प्रतिशतको गिरावटसहित बन्द भएको छ ।

मौद्रिक नीतको प्रभावस्वरूप आज नेप्से ३१०४.८६ अंकको न्युन विन्दुसम्म झरेको थियो भने ३१८७.४८ अंकको उच्च विन्दु कायम गरेको थियो ।आज बजार परिसूचकमा करेक्सन भए पनि कारोबार रकमले भने इतिहास रचेको छ । यसअघि, गएको जेठ मसान्तमा १९ अर्ब ५५ करोडको कारोबार भएको बजारमा आज कारोबार रकम साढे २१ अर्ब नाघेको छ । आज नेप्सेमा ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख १ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा लगानी, उत्पादनमूलक र  लघुवित्तबाहेकका सबै उपसूचकमा गिरावट भएको छ ।  हाइड्रोपावर उपसूचक सर्वाधिक ४.१३ प्रतिशत, वित्त कम्पनी उपसूचक २.८८ प्रतिशत, विकास बैंक उपसूचक २.७७ प्रतिशत र होटेल तथा पर्यटन उपसूचक १.७५ प्रतिशतले गिरावट भएको छ । त्यस्तै, जीवन बिमा उपसूचक १.०५ प्रतिशतले घट्दा बैंकिङ उपसूचकमा पनि ०.३४ प्रतिशतको सामान्य गिरावट भएको छ । अन्य उपसूचक १.९४ प्रतिशत र निर्जीवन बिमा उपसूचक १.५४ प्रतिशतले घटेको हो ।

यता, उत्पादनमूलक उपसूचक २.३५ प्रतिशत, लघुवित्त उपसूचक २ प्रतिशत र लगानी उपसूचक ०.५४ प्रतिशतले वृद्धि भएको छ । मौद्रिक नीति अगाडि हकप्रद सेयरको चर्चाले बढेको विकास बैंक र वित्त कम्पनीको सेयर मूल्य आज घटेको देखिन्छ ।

कारोबार रकमले इतिहास बनाउँदा आज नेपाल बैंकको सेयर खरिदमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । बैंकको १ अर्ब ५ करोड ४६ लाख ७९ हजारको सेयर कारोबार हुँदा १०० रुपैयाँमाथि प्रतिसेयर आम्दानीसहितको वित्तीय विवरण आएको  हिमालयन डिस्टिलरीको ७९ करोड २५ लाख ४३ हजार, अपी पावरको ७० करोड २७ लाख १९ हजार, रिडी पावरको ५९ करोड ४७ लाख ४६ हजार र  अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ६० लाख ६७ हजारको कारोबार भएको छ ।

आज बजार परिसूचकमा गिरावट भए पनि खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त, युुनियन लाइफ इन्स्योरेन्स र आईसीएफसी फाइनान्सको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यता, रिडी हाइड्रोपावरको  सेयर मूल्य ८.५२ प्रतिशतले गिरावट हुँदा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको सेयर मूल्य ७.८८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ६.३७ प्रतिशत र अपर तामाकोसीको सेयर मूल्य ६.०७ प्रतिशतले गिरावट भएको छ । आज कारोबारमा आएका १८६ कम्पनीमध्ये ५९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२६ कम्पनीको मूल्य भने घटेको छ । एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।