पन्जशिर कब्जा गरेको तालिवानी दावी
एजेन्सी । अफगानिस्तानमा सत्ता सञ्चालनको तयारीमा रहेको तालिबानका लडाकुहरुले पन्जशिर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएका छन । अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि राजधानी काबुलबाट उत्तर तर्फ रहेको पन्जशिर प्रान्त भने तालिबानको कब्जा बाहिर थियो ।
तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) र स्थानीय लडाकु समूहले तालिबानसँग लडिरहेका थिए । तर तालिबानले पन्जशिर प्रान्तमा पनि जित हाँसिल गरेको र त्यस क्षेत्र आफ्नो कब्जामा आएको बताएको हो ।
सोमबार आफ्ना लडाकुहरुले झण्डा फहराउँदै गरेको भिडियो तालिबानले सार्वजनिक गरेको छ । तर एनआरएफका लडाकुहरुले अझै पनि रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्रमा आफूहरुकै उपस्थिति रहेको बताएका छन् । उनीहरुले युद्ध जारी रहेको उल्लेख गरेका छन् ।
एनआरएफका नेताले तालिबानविरुद्ध देशभरबाट अभियान थाल्न आह्वान गरेका छन् । एनआरएफका नेता अहमद मसूदको अडियो सन्देश सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । त्यसमा नेता मसूदले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधानिकता प्रदान गरेको र सैन्य तथा राजनीतिक विश्वास दिएको भन्दै आलोचना गरेका छन् ।
उनले भनेका छन्, ‘जे भए पनि तपाईँहरु जहाँ हुनुहुन्छ म स्वाधिनताका लागि राष्ट्रिय अभियान थाल्न आह्वान गर्छु । यो अभियान हाम्रो देशको स्वतन्त्रता र समृद्धिका लागि हुनेछ ।’
पहाडी उपत्यका पन्जशिरमा एक लाख ५० हजार देखि दुई लाख मानिसको बसोबास छ । यो उपत्यका सन् १९८० को दशकमा सोभियत युनियन तथा सन् १९९० को दशकमा तालिबानलाई पराजित गर्न सफल भएको थियो ।
तालिबानले अहिले पन्जशिर कब्जा गरेको बताए पनि एनआरएफका प्रवक्ता अली माइसमले अस्वीकार गरेका छन । तालिबानले पन्जशिर कब्जा नगरेको भन्दै सो दाबी उनले खारेज गरेका हुन । न्याय र स्वतन्त्रताका लागि लडाईँ जारी रहेको उनले उल्लेख गरेका छन् ।
तालिबानले तीन हप्ता अघि अफगानिस्तानमा नियन्त्रण कायम गरेको हो । अगस्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेको थियो ।
तालिबान २० वर्षपछि फेरि सत्तामा आएको हो । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले दुई दशकदेखिको सैन्य अभियान अन्त्य गरेपछि फेरि तालिबान सत्तामा आउन सफल भएको बिबिसीले जनाएको छ ।