परम्परागत शैली बदल्नुपर्छ – शिक्षामन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८
9.5K
SHARES

२६ फागुन काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्। नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभामा उनले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसाथ गर्दै आफ्नो हितमा तीनको सार्थक उपयोग गरेर अगाडि बढ्नुपर्ने बताए।

‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्त्वपूर्ण पाठ सिकाएको छ,’ मन्त्री पौडेलले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुन:संरचित गर्नुपर्ने साथै अध्ययन अध्यापनका नवीन विकल्पहरू खोज्दै जानुपर्ने आवश्यकता बोध भएको छ।’

मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योग विज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवं मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौं अन्तर्व्यञ्जनहरुको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताए।

२०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेको बताए। ‘शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,’ मन्त्री पौडेलले भने, ‘शिक्षाले व्यक्तिको सर्वतोमुखी विकास गरी क्षमतायुक्त, प्रतिस्पर्धी, स्वावलम्बी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ।’