रेणु दाहाललाई भोट माग्दै चुनावी गीत बजारमा (भिडियोसहित)
७ वैशाख काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब २४ दिन मात्रै बाँकी छ । यतिबेला देश निर्वाचनमय बनेको छ । सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एकएक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ ।
भरतपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेद्वारमा विजय सुवेदीको नाम सिफारिस भएको छ। दाहाल र सुवेदीबीच प्रतिस्पर्धा हुने देखिएको छ। दाहाल गठबन्धनबाट सिफारिस भएकाले पनि उनलाई बलियो मानिएको छ भने सुवेदीले पनि आफू जित्ने दावी गर्दै आएका छन्।
यो संगै भरतपुरमा फेरि पनि माओवादी नेतृ रेणु दाहाल दोहोरिने लगभग पक्का भइसकेको छ । यहिक्रममा रेणु जिताउ अभियान अन्तर्गत चुनावी गीत भर्खरै मात्रै सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा युटुवर तथा पत्रकार सन्तोष देउजाको शब्द रहेको छ भने प्रदिप त्रिपाठीको संगीत रहेको छ । गीतमा गायक विष्णु खत्री र गायिका टिका पुनको स्वर रहेको छ । नेतृ दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको र भावि दिनमा पनि उनकै आवश्यक रहेको भावहरु गीतमा समेटिएको छ ।
हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा दर्शाइएको छ भने गीतको छायांकन नारायणी नदी, भरतपुर वडा नं १६ स्थित प्रचण्ड टोल बिकास संस्था,अन्तराष्टिय क्रिकेट रंगशाला लगायत स्थानमा गरिएको हो ।
भिडियोमा स्वंम दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटीलगायतको अभिनय रहेको छ । रविन्द्र बरालको छायाँकन रहेको सो चुनावी गीतको निर्देशन चितवनका पत्रकार रवि अधिकारीले गरेका छन् । नृत्य निर्देशक रवि शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् ।