ओलीले नेतृत्वको गठबन्धनमा राजावादीहरू छन् – अध्यक्ष नेपाल
२३ वैशाख काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा प्रगतिशील र प्रतिगामी गरी दुईवटा गठबन्धन रहेको बताएका छन् । सत्ता गठबन्धनले शुक्रबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको चुनावी सभामा उनले प्रतिमागी दक्षिपन्थी गठबन्धनको नेतृत्व एमाले अध्यक्ष केपीशर्मा ओलीले र प्रगतिशील गठबन्धनको नेतृत्व आफूहरूले गरिरहेको बताए । ओलीले नेतृत्व गरेको गठबन्धनमा राजावादीहरू सामेल रहेको आरोप पनि उनले लगाए ।
“जहाँ राप्रपाजस्ता दक्षिणपन्थी, राजावादीहरू गठबन्धनमा सामेल छन् । विदेशीहरूसामु लम्पसारपर्नेहरू, संविधान विरोधीहरू गठबन्धनमा छन्,” नेपालले भने । संविधान जोगाउने, गणतन्त्रका पक्षधर, धर्म निरपेक्षताका हिमायतीहरू प्रगतिशील गठबन्धनमा आवद्ध रहेको उनको दाबी छ ।
कुन गठबन्धन रोज्ने भन्ने विचार गर्नुपर्ने उनले बताए । त्यसैगरी उनले स्थानीय निर्वाचनका कतिपय उमेदवार हावादारी गफ गर्नेहरू रहेको बताए । दम्भ र गफले जनतालाई मुर्ख बनाउन नसकिने भन्दै उनले आश्वासन,नक्कली प्रतिबद्धता कुनै पनि काम नरहेको बताए ।