हुबहु प्रश्नपत्र निकाल्नेलाई कारबाही गरियो, नाम सार्वजनिक गर्न मिल्दैन – त्रिभुवन विश्वविद्यालय


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १२ २०७९
3.4K
SHARES

१२ भदौ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको बताएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताए। ‘हुबहु प्रश्न सोधिएकोबारे कारबाही गरिसकिएको छ। यो संवेदनशील विषय भएकोले नामचाहिँ सार्वजनिक गर्न मिल्दैन। सुरक्षाका कारणले हो। नाम सार्वजनिक गर्दा हुबहु प्रश्नपत्र निकाल्ने यो पो रहेछ भन्ने हुन्छ,’ उपकुलपति बाँस्कोटाले भने।

त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहोर्‍याएपछि विरोध भएको थियो।  हुबहु प्रश्नपत्र तयार गर्ने र एउटा विषयको उल्लेख गरेर अर्कै प्रश्नपत्र तयार पार्नेमाथि छानबिन गरी कारबाही गरिएको उनले बताए। ‘तीन वर्षसम्म पठनपाठन र परीक्षाका काम गर्न उहाँहरूमाथि रोकेका छौं,’ उनले भने, ‘उहाँहरूलाई विभागीय कारबाही गरिसकिएको छ।’

नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने त्रिविको भनाइ छ। विगतमा दुई जना शिक्षकको हत्या भएको पनि त्रिविले बताएको छ। त्रिविले पत्रकार सम्मेलन गरिरहँदा नेविसंघले भने त्रिवि परिसरमा प्रदर्शन गरिरहेको थियो। हुबहु प्रश्नपत्र निकाल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेका थिए। उनीहरूले उपकुलपति बाँस्कोटाको राजीनामा पनि माग गर्दै प्रश्न गरेका छन्।