घरमा पूजा कोठा राख्दा यस्ता गल्ती गर्नुहुँदैन अन्यथा अशुभ नै अशुभ हुन्छ
२९ भदौ काठमाडौं । तपाईं घर बनाउँदै हुनुहुन्छ ? अथवा निकट भविष्यमै बनाउने सुरसारमा हुनुहुन्छ ? सामान्यतया जीवनभरमा भएको सबै बचत खर्च गरेर एकपटक बनाइने घर राम्रो, आरामदायी र बलियो हुनु आवश्यक छ । त्यसमा पनि शान्ति महसुस गराउने र समृद्धिदायक भयो सुनमा सुगन्ध हुन्छ । नेपाली समाज भाग्यमा विश्वास गर्छ । शुभ-अशुभको निकै ख्याल गर्छ । त्यसैले घरमा पनि शुभ लक्षणको मेल गराउन सकियो भने मन शान्त रहन्छ, परिवारमा मिलाप रहन्छ । घरमा शुभ लक्षणको मेल कसरी गराउने ? यसका लागि वास्तु शास्त्रले हामीलाई सहयोग गर्छ ।
वास्तु शास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।
वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ । प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको विशेष ध्यान राखिन्छ । यीमध्ये पूजाकोठा कुन दिशामा कस्तो र कसरी राख्ने भन्ने जानकारी यहाँ समावेश गरिएको छ ।
हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ । पूजास्थल बनाउँदा ध्यान दिनुपर्ने पक्ष यसप्रकार छन्ः
पूजाघरको ढोका टिन वा फलामको हुनुहुँदैन ।
पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन ।
पूजा कोठा शौचालयसँग एकै पर्खालले जोडिएको हुनु हुँदैन ।
पूजा कोठामा लगाइने रङ हलुका क्रिम अथवा सेतो हुनुपर्छ ।
सुत्ने कोठामा पूजा स्थल बनाउनु हुँदैन ।
भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन । नैऋत्य भनेको दक्षिण र पश्चिम दिशाको मध्य हो ।
घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ । यसलाई पूर्व वा उत्तरतिरकाे भित्तामा झुन्डाउनु पर्छ ।