विश्वपक फुटबल : अर्जेन्टिना बन्यो च्याम्पियन


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ३ २०७९
2.6K
SHARES

३ पुस काठमाडौं । नाटकीय फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको च्याम्पियन बनेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थिएन ।

कतारको लुसैल रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट, इन्जुरी समय र अतिरिक्त समयमा दुवै टिमले ३–३ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।खेलमा फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् ।खेलमा फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । तर, उनी सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्स्टले फाइनलमा पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।

पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाए । यस्तै, फ्रान्सका आर्लियन चुवामेनीको प्रहार बाहिरियो ।

त्यसअघि खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

फ्रान्सका ओस्मान डेम्बेलेले १८ यार्ड बक्समा एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।

३६ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० मा पुर्‍याए । एलेक्सिस म्याक एलिस्टरले निकालेको बलमा बक्सभित्रबाट डी मारियाले सहजै पोस्टको दिशा दिए ।

तर, अर्जेन्टिना अन्तिम १० मिनेट सम्हालिन नसक्दा फ्रान्स खेलमा फर्कियो । फ्रान्सले दुई मिनेटमा दुई गोल फर्कायो ।

८० औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले रान्डल कोलो मुअनीलाई फाउल गरेपछि फ्रान्सले पनाल्टी पाएको थियो जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् ।

 

 

यसको अर्को मिनेटमा नै एमबाप्पेले नै गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए । मार्कुस थुरमले निकालेको बलमा बक्सभित्र रहेका एमबाप्पेले गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काएपछि खेलले नाटकीय रूप लिएको थियो ।

तर, अतिरिक्त समयमा मेसीले गोल गरेपछि अर्जेन्टिनाले ३–२ को अग्रता बनाएको थियो ।

फेरि ११८ औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुनः बराबरीमा ल्याएका थिए । १८ यार्ड बक्समा गोन्जालो मोन्सियलले ह्यान्डबल भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् ।