सरकारलाई जसरी पनि सफल बनाइन्छ – अध्यक्ष ओली
२३ पुस काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन्। एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताएका हुन्।
‘यो सरकारलाई सफल बनाउन चाहान्छौं,’ अध्यक्ष ओलीले भने, ‘सरकारलाई हामीले उपयुक्त ढंगले मार्गनिर्देश गर्छौं। सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस्।’ उनले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए।
अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरूलाई निर्देशनसमेत दिए। एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले केही बाहिरी तत्त्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए। उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए।
‘हामी विदेशी हस्तक्षेप रुचाउँदैनौं,’ अध्यक्ष ओलीले भने। उनले सांसदहरूलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए। उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए। अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरूलाई जनताका पिरमर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे।
कार्यक्रममा एमाले संसदीय मामिला प्रमुख डा शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताइन्। उनले संसद्मा खेल्नुपर्ने भूमिकालाई उल्लेखनीयरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइन्।
विभागका सदस्य खिमलाल भट्टराईले संसद्मा एमालेको भूमिकालाई सांसदहरूले प्रभावकारी बनाउनका लागि अभिमुखीकरण गरिएको बताए। उनका अनुसार दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा नेपालको संसदीय अभ्यास र संसदीय प्रणालीका बारेमा जानकारी गराइनेछ। -रासस