मतगणनासँगै जय र पराजयको कुरा सकिनुपर्छ – सभापति थापा


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २४ २०८३
228
SHARES

२४ असोज काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएसँगै सबै एकताबद्ध भएर नागरिकको विश्वास जित्ने अभियानमा जुट्नुपर्ने बताएका छन्।१५औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट सम्बोधन गर्दै प्रतिस्पर्धालाई जितहारका रूपमा मात्र लिन नहुने बताए।

उनले भने, ‘यो महाधिवेशनको मतगणना सकिने कुरासँगै जय र पराजयको कुरा पनि सकिनुपर्छ। किनकि अब यहाँ हामी सबैले जित्ने हो। त्यो जित भनेको नागरिकको विश्वास जित्ने हो। नागरिकको विश्वास जित्ने ठूलो अभियानमा एक्लैले वा हामी कसैले गरेर मात्र सम्भव छैन।’उनले आफूसँग प्रतिस्पर्धा गर्ने श्यामकृष्ण खड्गीलाई आभार प्रकट गरे।

उनले थपे, ‘यो प्रतिस्पर्धाले कांग्रेस भित्रको लोकतन्त्रलाई र आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्नका निम्ति एउटा महत्त्वपूर्ण कडी साबित भएको छ। श्यामकृष्ण खड्गीलाई पनि सँगै लिएर हिँड्नुपर्नेछ । थुप्रै पार्टीका साथीहरू जो जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनुभएको छैन, उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। उहाँलाई पनि जोड्ने प्रयास हाम्रो अनवरत रूपमा रहनेछ।’

उनले पार्टीमा कोही पनि जिम्मेवारी विहीन नहुने बताए।अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए। किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उनको प्रतिबद्धता थियो।

‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ। नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ उनले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ।’

महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए।

कांग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।

१५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाट परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो।