माओवादी प्रदेश–१ सरकारमा सामेल नहुने


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २५ २०७९
2.6K
SHARES

२५ पुष विराटनगर । प्रदेश नं १ सरकार गठनमा समर्थन गरेको नेकपा (माओवादी केन्द्र) सरकारमा भने सामेल नहुने भएको छ । केन्द्रमा मुख्यमन्त्रीको आलोपालो सहमति नभएपछि माओवादी सरकारमा नजाने निर्णयमा पुगेको हो । आइतबार माओवादीसहितका दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की प्रदेश मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् ।

माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रमा आलोपालो नेतृत्व गर्ने सहमति गरेर आएको तर त्यो लागू हुने अवस्था नदेखिएकोले आफूहरु सरकारमा नजाने निर्णय लिएको बताए । “आलोपालो गर्ने सहमति नभएसम्म हामी सरकारमा जादैनौँ,” उनले भने ।

आङ्बोले काठमाडौंमा प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुने सहमति गरेको आइतबार विराटनगरमा बताएका थिए । तर, त्यस विपरित केन्द्रीय नेताहरुको बैठकले प्रदेश–१ सरकारको नेतृत्व पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको छ । आङबोले प्रदेशको नेतृत्वको विषयमा निर्णय उल्ट्याइएको विषयमा आफूहरुको समर्थन नरहेको सुनाए । प्रदेश–१ मा केन्द्रीय भागबण्डाअनुसार मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई दिने निर्णय भएको थियो ।